काठमाडौं, बैशाख १५ । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको छ। बुधबार भएको खेलमा चितवनले बुटवलसँग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो। खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट चितवनले अग्रता बनाएको थियो। गोरान जेर्कोभिचको पासमा जर्जले वान टचमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
खेलको १९ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २-० को अग्रता दिलाए। बुटवलका डिफेन्डरले क्लियर गर्न नसक्दा टेकले पोस्टको जाली चुमाएका थिए।
तर, खेलको ३२ औं मिनेटमा आशिष लामाले गोल गर्दै बुटवललाई २-१ को स्थितिमा ल्याए। अर्मान्डको पासमा आशिषले डिबक्सको ठिक बाहिरबाट उत्कृष्ट गोल गरे।
त्यसपछि खेलको ६५ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २-२ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए। चितवनका गोलकिपर कुलदिप कार्कीले अघि बढेर बल पन्च गर्दै बाहिर पठाएका थिए। तर, उक्त बल पुर्णरुपमा क्लियर नहुँदा अनमार्क रहेका रुचालले उत्कृष्ट गोल गरे।
खेलमा चितवनका जर्ज प्रिन्स कार्की प्लेयर अफ दि म्याच चुनिए। उनले २५ हजार प्राप्त गरे। प्रोमोसिङ प्लेयर अफ दि म्याच बुटवलका लक्ष्मण रुचाल चुनिए। उनले १० हजार हजार प्राप्त गरे।
यस बराबरीसँगै चितवनले २ खेलमा २ अंक जोडेको छ। पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरी खेलेको थियो। बुटवलको यो पहिलो बराबरी हो। बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० ले हराएको थियो। बुटवलले २ खेलमा ४ अंक जोडेको छ।


























