काठमाडौं, बैशाख १५ । घरेलु भूमिमा आयोजना भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि विजेता नेपाली टोलीलाई सरकारले जनही ४ लाख पुरस्कार दिने भएको छ। मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख दिने निर्णय गरेको हो।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले खेलकुद मन्त्रालयको प्रस्तावमा टोलीका सबै सदस्यलाई प्रतिव्यक्ति ४ लाख दिने निर्णय गरेको जानकारी दिए।
त्यस्तै तीन जना प्रशिक्षकलाई जनही २ लाख दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए। त्रिवि क्रिकेट मैदानमा गत शनिबार भएको फाइनलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले सिरिजमा कब्जा जमाएको थियो।
यससँगै नेपालले पहिलो पटक टी-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको थियो। यस्तै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ। नेपालले यस अघि सन् २०१० मा आईसीसी डिभिजन-५ को उपाधि जितेको थियो।




















