काठमाडौं, बैशाख १३ । मनमोहन अधिकारी नेपालका पूर्वप्रधानमन्त्री प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ हुन्। वि.सं.२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा (एमाले) को तर्फबाट उनी नेपालका प्रधानमन्त्री बनेका थिए।
वि.सं. १९७७ जेठ २८ गते जन्मिएका मनमोहन अधिकारीको ०५६ वैशाख १३ गते (आजकै दिन) निधन भएको थियो। अधिकारीको आज २२ औँ स्मृति दिवस हो। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यसमेत हुन्।
वि.सं. २०४६ को जनआन्दोलन हुँदा अधिकारी नेकपा मार्क्सवादीका अध्यक्ष रहेका थिए। २०४७ मा नेकपा (माले) सँग पार्टी एकीकरण भएपछि उनी नेकपा (एमाले) को समेत संस्थापक अध्यक्ष बने। २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका अधिकारीले गरेका कामले नै उनलाई अविस्मरणीय बनाएको छ।
आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने कार्यक्रम ल्याएर उनले तत्कालीन समयमा हरेक गाविसमा तीन–तीन लाख रुपैयाँ बजेट विनियोजन गरे। उनकै सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) सुरु गरेको थियो। त्यतिबेला वृद्धाभत्ताको व्यवस्था दक्षिण एसियाकै पहिलो प्रयोग थियो। प्रतिमहिना १ सयबाट सुरु गरिएको यो कार्यक्रम अहिले दैनिक १ सयमा आइपुगेको छ।
९ महिना मात्र प्रधानमन्त्री भएका अधिकारीले पारदर्शिता र मितव्ययितालाई उच्च महत्व दिएका थिए। अहिलेका शासकवर्गले अधिकारीबाट धेरै कुरा सिक्नु पर्ने राजनीतिज्ञहरु बताउँछन्। नेपालको इतिहासमा उनी एक सफल प्रधानमन्त्रीको रुपमा चिनिन्छन्।


























