काठमाडौं, बैशाख १२ । पछिल्लो स्वास्थ्य संकटबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपरान्ह बैठक बोलाएका हुन्।
यसअघि शनिवार प्रधानमन्त्री ओलीसहित बालुवाटारमा सीसीएमसीको विस्तारित बैठक बसेको थियो। सो बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमाथि छलफल भएको थियो भने सीसीएमसीको तयारीबारे समेत ब्रिफिङ गरिएको थियो।
प्रधानमन्त्रीको आवश्यक निर्देशन र सुझावपछि बैठक बोलाइएको हो। सरकारले देशभर एकैपटक लकडाउन नगर्ने नीति लिएको छ। यसबाहेक संक्रमण नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरी केही क्षेत्रमा थप कडाई र केही सेवा क्षेत्र नियन्त्रित रुपमा चलाउने निर्णय हुन सक्ने बताइएको छ।
कोरोनाको दोस्रो लहर भयावह बन्न सक्ने भएकाले कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। यही रूप जारी रहेमा धेरै गार्हो हुनसक्ने भएकाले अक्सिनका थप सिलिण्डर मगाउने काम भइरहेको उनले बताए।


























