चीन, माघ १३ । चीनमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको छ। झण्डै तीन हजारजनामा संक्रमण पुष्टि भएको चीनका अधिकारीहरुले बताएका छन्।
हुबेइ प्रान्तको वुहानसहितका शहरमा ज्यान गुमाउनेको संख्या ५६ बाट ७६ पुगेको र अरु चारजनाको देशका अरु क्षेत्रमा मृत्यु भएको चीनको स्वास्थ्य संगठनले सोमबार बताएको छ।
चीनमा नोवेल कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २७ सय ४४ पुगेको संगठनले जनाएको छ। संक्रमित मध्ये ३०० जनाको अवस्था गम्भीर रहेको छ।
हुबेइ प्रान्तमा नोवेल कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन्।
संक्रमण रोक्नका लागि विभिन्न शहरमा जानका लागि भ्रमण प्रतिबन्ध लगाइएको छ। सार्वजनिक यातायातमा यसअघि नै प्रतिबन्ध लागेको वुहानमा आइतबारदेखि निजी गाडीमा पनि प्रतिबन्ध लागेको छ।
चीनले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप त्यसको उपचारका लागि तत्काल नयाँ अस्पताल बनाइरहेको छ। १००० शैयाको अस्पताल निर्माण गएको शुक्रबारदेखि सुरु भएको हो। सो अस्पताल ६ दिनमा तयार पार्ने योजना छ।
यस्तै १३०० शैयाको अर्को अस्पताल पनि बनाउन सुरु भएको चीनले जनाएको छ। सो अस्पताल १५ दिनभित्र पूरा गरी सञ्चालनमा ल्याउने योजना छ।
संक्रमण फैलिएको हुबेइ प्रान्तमा विशेष सैन्य स्वास्थ्य टिम गएको छ।
कोरोना भाइरसको संक्रमण चीनमा मात्रै सीमित भएको छैन। चीनबाट आएका एक नेपालीमा यसको संक्रमण पुष्टि भएको छ। यस्तै अरु दुईजनामा पनि संक्रमणको आशंका गरिएको छ। यस्तै अमेरिका, फ्रान्स, दक्षिण कोरिया, थाइल्याण्डसहितका देशमा पनि संक्रमण देखिएको छ।
नयाँ कोरोना भाइरसको संक्रमणका कारण ज्वरो आउने, सुक्खा खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने गर्छ।


























