काठमाडौं, बैशाख ११ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल अपरान्ह सवा १ बजे सुरु हुनेछ।
करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाल घरेलु मैदानमा उपाधि जित्न चाहन्छ। उपाधि जित्दै नेपाल कोरोनाका कारण बारम्बार सरेको अन्तर्राष्ट्रिय प्रतियोगिताको पीडा भुल्न चाहन्छ।
नेदरल्यान्ड्स पनि नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ। तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन्।
सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लयलाई कायम गर्न चाहन्छ। सिरिजमा नै उच्च प्रदर्शन गरेको नेपाल फाइनलमा पनि नेदरल्यान्ड्सलाई कडा चुनौती दिन चाहन्छ।
तर, नेदरल्यान्ड्ससँग पनि सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको उच्च मनोबल छ। नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्स पनि आफ्नो त्यहि लयलाई कायम राख्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ।


























