काठमाडौं, बैशाख ११ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलसँगै प्रतियोगिताको सुरुवात हुनेछ। काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
आज दुबै टिम जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ। त्यसैले दुई भ्याली डर्बी क्लबबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ।मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंको कप्तानी गोलकिपर विकेश कुथुले गर्ने छन्। ललितपुरको कप्तानी अन्जन विष्टले गर्ने छन्। टिमको प्रशिक्षकमा प्रदिप हुमागाई रहेका छन्।
तर, प्रतियोगिताको खेल हेर्न दर्शकलाई रंगशाला प्रवेशको अनुमति छैन। कोरोना महामारीको कारण प्रतियोगिता बन्द रंगशालामा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म सञ्चालन हुनेछ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन्।
प्रतियोगिताको विजेताले ३५ लाख पाउने छन्। यस्तै उपविजेताले १५ लाख पाउने छन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन्।
त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन्।


























