चितवन, बैशाख १० । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख रुपैंयाँ आर्थिक सहयोग गरेको छ।
रंगशाला निर्माणका लागि चलाईएको ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान अन्तर्गत खेलाडी संघले रंगशालालाई १ लाख रुपैंयाँ आर्थिक सहयोग गरेको हो।संघले शुक्रबार हाम्रो रंगशालामा मेरो कुर्सी अभियानमा संघ सहभागी भएको र संघको नाममा एउटा कुर्सी खरिद गरेको जनाएको छ।
अब धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको एउटा कुर्सीको नाम खेलाडी संघको नाममा हुनेछ। फाउण्डेशनले यस अभियानमा एक कुर्सीको लागि १ लाख सहयोग गर्नु पर्ने घोषणा गरेको थियो फाउण्डेशनले खेलाडी संघले गत फागुन ८ गते आयोजना भएको एनएनआईपीए स्पोर्ट्स अवार्डबाट बचत भएको रकमले कुर्सी खरिद गरेको जनाएको छ।
संघका अध्यक्ष दिपक श्रेष्ठको नतृत्वमा रहेको संघका पदाधिकारीले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई आर्थिक सहयोग प्रदान गरेका थिए। फाउण्डेशनले जनस्तरबाट आर्थिक रकम जुटाएर रंगशाला निर्माण गरिरहेको छ। पछिल्लो समय फाउण्डेशनलाई आर्थिक अभाव झेल्नु परेको छ।


























