काठमाडौं, बैशाख ९ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित १५ जना नेताले पार्टी स्थापना दिवसको अवसरमाा संयुक्त अपिल जारी गर्दै आफूहरूलाई एमालेमा रहन नदिन दाउपेच गरिएको आरोप लगाएका छन्।
बिहीबार जारी गरिएको अपिलमा आफूहरूले पार्टी एकता जोगाउन चाहे पनि फागुन २८ यता भएका बैठक र निर्णयहरू अवैध रहेकाले ती सबै रद्द गर्नुपर्ने माग गरेका छन्।
अपिलमा भनिएको छ, ‘२०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्छ। यदि त्यसो भयो भने नेकपा एमालेको एकता जोगिन्छ।’
अपिलमा माधव नेपाल पक्षका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी विभाजन र विसर्जनको डिलमा पुगेको आरोप लगाएका छन्। उनीहरूले ओलीका कारण एमालेमात्र नभएर कम्युनिष्ट आन्दोलन नै विसर्जनको दिशामा गएको बताएका छन्।


























