मकवानपुर, बैशाख ८ । मकवानपुरको मनहरी खरङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मनहरी गाउँपालिका–९ खरङ्गामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
बा २ ख ९०२९ नम्वरको ट्रकले सोही दिशाबाट गइरहेको ना १ प ८४२६ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मृत्यु हुनेमा मोटरसाइकलमा सवार हेटौंडा उपमहानगरपालिका–१९ गुम्बाडाँडा बस्ने वर्ष ३० का गुणसिह वाइवा रहेका छन्।
त्यस्तै दुर्घटनामा मोटरसाइकलमा नै सवार उदयपुर घर भएका वर्ष २७ का मुकेश परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घाइते पुरुषको हेटौँडा ११ स्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ भने मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ।


























