काठमाडौं, बैशाख ८ । नेकपा एमालेको माधव नेपाल पक्षले सांसद पदबाट कारवाही गर्नेगरी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले थालेको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा जान लागेको छ।
एमालेले नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो। कानून व्यवसायीहरूसँगको छलफलपछि कारवाही प्रक्रिया रोकी पाउँ भन्दै सर्वोच्च अदालत जान लागिएको नेता बेदुराम भुसालले बताए।
‘साथीहरूले यसको तयारी गरिरहनुभएको छ,’ उनले भने, ‘ सबै तयारी पूरा भएपछि आजै सर्वोच्च जान्छौं।
नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले उत्प्रेषणको आदेशबाट ओलीको कारवाही प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिने तयारी भइरहेको बताए।
एमालेले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेपछि नेपाल पक्ष अदालत गएको हो।


























