काठमाडौं, बैशाख ८ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।
टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ। बुधबार नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा रहेको छ। तीन खेलमा ४ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ। मलेसियालाई हराएमा नेदरल्यान्ड्सले फाइनलमा स्थान बनाउने छन्।
यता, मलेसिया भने पहिलो जितको खोजीमा हुनेछ। मलेसिया पनि नेदरल्यान्ड्सलाई हराएर फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ। मलेसियालाई फाइनल पुग्न अब बाँकी रहेको दुई खेल जित्नै पर्ने दबाब रहेको छ। दुई खेलमा अंक जोड्न नसकेको मलेसिया पुछारमा रहेको छ। नेपाल ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ। नेदरल्यान्ड्ससँगको खेल गुमाएमा मलेसिया बाहिरिनेछ। नेदरल्यान्ड्स र नेपाल भने फाइनल पुग्नेछ। सिरिज अन्तर्गतको पहिलो भेटमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको थियो। मलेसिया पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ।


























