काठमाडौं, बैशाख ६ । कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियालाई ९ विकेटले पराजित गरेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार कुशलले अर्धशतकीय इनिङ्स खेल्दा मलेसियालाई सहजै पराजित गरेको हो।
मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतीमा पूरा गरेको हो। नेपालको जितका नायक बनेका कुशलले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए।
नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो। शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशलले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। उनले नेदरल्यान्ड्सविरुद्ध ४६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६२ रन जोडेका थिए।
त्यस्तै नेपालको सहज जितका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे। उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडे। उनी १२ ओभरको पहिलो बलमा लामो सट खेल्ने क्रममा कभरमा अनवर रहमानको हातबाट क्याच आउट हुन पुगे।
उनले कुशलसँग १ सय २ रनको साझेदारी गरे। उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे। मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो।
खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो। करण केसीको बलमा विनोद भण्डारीले क्याच गर्दै अनवर अरुदिनलाई ८ रनमा पेभिलियन फर्काएका थिए।
त्यसपछि मैदान प्रवेश गरेका कप्तान अहमद फाइज धेरै बेर क्रिजमा टिक्न सकेनन्। उनी चौथो ओभरको दोस्रो बलमा टोलीको ३४ रन हुँदा ३ रनमा मैदानबाट बाहिरिए। उनी आफै गल्तिका कारण रन आउट हुन पुगे।
तेस्रो विकेटको रुपमा मलेसियाले विरन्दीप सिंहलाई गुमायो। ११ बलमा १ चौका प्रहार गरेर ६ रनमा खेलिरहेका उनी सोमपालको बलमा बोल्ड हुन पुगे। सातौ ओभरको अन्तिम बलमा विरन्दीपले स्लीप खेल्ने क्रममा बल सोझै विकेटमा लागेको थियो।
चौथो विकेटको रुपमा मलेसियाले ओपनर ब्याट्सम्यान साद अजिजलाई गुमायो। एक तिरबार विकेटको पतन भइरहेका बेला अर्को क्रिजमा डटेर मलेसियाको इनिङ्स सम्हालिरहेका उनी दिपेन्द्र सिंह ऐरीले गरेको आठौं ओभरको पाँचौ बलमा आउट भए।
उनी रिभर सुइप खेल्ने चक्करमा आसिफ शेखको हातबाट क्याच आउट हुन पुगेका थिए। अजिजले मलेसियाका लागि २७ रनको योगदान दिए। उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।
पाँचौ विकेटको रुपमा विकेटकिपर ब्याट्सम्यान शाफिक शारिफ पेभिलियन फर्किए। उनी लामो सट खेल्ने धुनमा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भएका थिए। उनले १३ बलमा एक चौका र छक्का प्रहार गर्दै १५ रन जोडे। त्यसपछि अमिनुद्दीन रामलीले १५ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्। उनले १५ बलमा एक छक्कासहित २० रन जोडेका थिए।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएका हुन्। त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले १/१ विकेट लिए।
नेपालको यो लगातार दोस्रो जित हो। नेपालले २ खेलमा ४ अंक जोडेको छ। नेपाल शीर्ष स्थानमा रहेको छ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो। मलेसियाको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो।


























