काठमाडौं, बैशाख ६ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्ने भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले सोमबारका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो।
बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने माओवादी केन्द्रका नेताहरुले बताएका छन्। काँग्रेसले माओवादी केन्द्रले अझै सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै सरकार गठनमा अग्रसरता नदेखाएकोले माओवादी केन्द्र अन्ततस् सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको बताइएको छ।
नयाँ सरकार गठनको स्पष्ट खाका बनेपछि समर्थन फिर्ताको निर्णय गर्ने अडानमा रहेको माओवादी केन्द्रले सरकार बनाउन गठबन्धन बन्न गाह्रो देखिएकै बेला समर्थन फिर्ताको तयारी गरेको हो।


























