काठमाडौं, बैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई पुनस् गृहमन्त्री नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले थापालाई गृहमन्त्री पुनर्नियुक्त गरेकी हुन्।
बादललाई संविधानको धारा ७८ को उपधारा (१) अनुसार मन्त्रीमा पुनर्नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। आइतबारै संघीय संसद् सचिवालयले गृहमन्त्री बादल राष्ट्रियसभा सदस्य नरहेको सूचना टाँस गरेको थियो। सांसदसँगै उनको गृहमन्त्री पद पनि समाप्त भएको थियो।
गृहमन्त्रीमा पुनर्नियुक्ति पाएका बादललाई आजै शपथ गराउने तयारी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। उनलाई साँझ ५ बजे शपथ गराउने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। रिक्त राष्ट्रियसभा सदस्य पदमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने संवैधानिक प्रावधान छ।
Facebook Comments
























