काठमाडौं, बैशाख ४ । काठमाडौंको कीर्तिपुरमा जारी क्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सबाट १३७ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनायो।
ओ डाउडले पहिलो बलमै सोमपाल कामीलाई चौका प्रहार गर्दै इनिङ्सको सुरुवात गरेका थिए। पुनरागमन गर्दै सोमपालले बाँकी बलमा कुनै रन दिएनन्। दोस्रो ओभरमा सन्दीप लामिछानेले नेपाललाई सफलता दिलाए। नेपाली क्रिकेट टोलीका स्टार सदस्य सन्दीपले दोस्रो ओभरको अन्तिम बलमा डाउडलाई आरिफ सेखको हातबाट क्याच गराए। ११ बल खेलेका डाउडले २ चौकासहित १० रन बनाए।
तेस्रो ओभरमा नेपालले पुनः सफलता हात पार्यो। यसपटक सोमपाल कामीले अर्का ओपनर बेन कुपरलाई एलबिडब्लुको सिकार बनाएका थिए। कुपरले २ बल खेलेपनि कुनै रन जोड्न सकेनन।
त्यसपछि नेदरल्याण्ड्सका एस इडवर्डस र बी डी लिड्सले टोलीलाई सम्हाले। डेब्यू खेलाडी सहाब अलामले १४औं ओभरको अीन्तम इडवर्ड्सलाई कुशल भुर्तेलको हातबाट क्याच गराउँनुअघि यी दुईले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। इडवडर्सले ३२ बलमा २ चौका र एक छक्का प्रहार गर्दै ३० रन जोडे।
सन्दीप लामिछानेले १७औं ओभरको अन्तिम बलमा लिड्सलाई पनि कुशल भुर्तेलको हातबाट क्याच गराए। लिड्सले ४९ बलमा ३ चौका र दुई छक्का प्रहार गरे।
अन्तिममा कप्तान पिटर सिलर १७ बलमा २२ र एन्टिनोस स्टल ९ बलमा २० रन बनाउँदै अभिजित रहे। नेपालका सन्दीपले २ तथा सोमपाल र सहाबले एक एक विकेट लिए। नेपाल क्रिकेट संघको आयोजनामा जारी त्रिकोणात्मक शृंखलामा नेपाल, नेदरल्याण्ड्स र मलेसियाले खेलिरहेका छन्।


























