काठमाडौं, बैशाख ४ । वाग्मती सफाइ महाअभियानको ४१४ औँ हप्ताको सफाइ वाग्मती र रुद्रमती नदीको दोभान क्षेत्रमा गरिएको छ।
काठमाडौँ महानगरपालिका वडा नं.११ का जनप्रतिनिधि र स्थानीय क्लबको सक्रियतामा गरिएको सफाइबाट नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। कुहिने फोहर भने खाडल खनेर नदी किनारमा गाडिएको छ। शुक्रबार भएको वर्षाका कारण पानीले बगाएर ल्याई थुपारेको प्लाष्टिक झोला र बोत्तल व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए।
सफाइमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडे, पूर्व मुख्य सचिव एवं वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो। यसैगरी संस्थागत रुपमा तीन वटै सुरक्षा निकाय, सशस्त्र प्रहरी श्रीमती सङ्घलगायतले आजको सफाइमा सहयोग गरेको जनाइएको छ।
वाग्मतीको तिलगङ्गा खण्ड सफाइ अभियानको २९५ औँ हप्ताका अवसरमा त्यस क्षेत्रमा सफाइ गरिएको छ। महिलाको सक्रियतामा त्यस क्षेत्रमा सफाइ हुँदै आएको छ। यसैगरी गुहेश्वरीमाथिको वाग्मती, वाग्मतीको सुन्दरीघाट खण्ड, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ।
विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुई घण्टा जारी छ। राष्टका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सफाइ महाअभियान शुरु भएको हो। वाग्मती सफाइ अभियान शुरु भएपछि यसका विभिन्न खण्डका साथै सहायक नदी पनि सफाइ अभियान शुरु भएको हो।
उपत्यका बाहिरका मुख्य नदी, शहरी एवं सांस्कृतिक स्थलमा पनि सफाइ अभियान शुरु भएको छ। हाल देशभर गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ। रासस


























