काठमाडौं, बैशाख १ । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ। क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरेको हो।
बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो। स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन्।
बन्द प्रशिक्षणमा रहेका मध्येबाट ललित नारायण राजवंशी,सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र लोकेश बम भने बाहिरिएका छन्। नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ। सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते हुनेछ। खेल दिउँसो सवा १ बजे सुरु हुनेछ।
नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ। यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ।


























