काठमाडौं, बैशाख १ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य जारी गरेर प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्।
केसीद्वारा जारी विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको सन्दर्भमा गण्डकी प्रदेश सरकारलाई समर्थन दिइराख्न जरुरी नदेखिएको उल्लेख छ।
वामपन्थी सरकारको पक्षमा जनमोर्चा भए पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा गण्डकी प्रदेश सरकार ओली सरकारकै छायाँ हुने भएकाले समर्थन फिर्ता गरिएको विज्ञप्तिमा जनाइएको छ।
गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद छन्। जनमोर्चाको यस्तो निर्णयसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ।
माओवादी केन्द्रले यसअघि नै सरकारबाट मन्त्री फिर्ता बोलाएर नयाँ सरकार गठनका लागि छलफल चलाउँदै आएको थियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा विपक्षमा उभिएको अवस्थामा मुख्यमन्त्री गुरुङ अल्पमतमा पर्नेछन्।


























