काठमार्डौ, चैत्र १७ । नेकपाको एकतालाई भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरूद्ध माओवादी केन्द्र आज पुनरावलोकनमा जादै छ।
नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थाम फर्काइदिएको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल न्यायिक पुनरावलोकनका लागि आज सर्वोच्च अदालत जान लागेको नेता लीलामणि पोखरेलले जानकारी दिए।
नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा कानुन व्यवसायीहरूसँग छलफल र पार्टीको निर्णायानुसार पुनरावलोकनका लागि जान लागिएको पोखरेलले बताए। पुनरावलोकनका लागि बरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण विडारी, रमण श्रेष्ठ लगायतले निवेदन तयार पारिसकेका छन्।
नेकपा पार्टीको नाम आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले निर्वाचन आयोग र साबिक नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्च अदालले कट्टेलकै पक्षमा फैसला गरेको थियो।
अदालतले फागुन २३ गते नेकपा कट्टेलको हुने ठहर गर्दै ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा आ-आफ्नै पार्टी एमाले र माओवादीमा फर्किन आदेश दिएको थियो।


























