हेटौंडा, चैत्र १२ । बागमती प्रदेश सभाको बैठक यही चैत्र अन्तिम साता बोलाइने तयारी भएको छ। प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले दलहरुसँग छलफल गरेर बैठक बोलाउने जानकारी दिए।
संसदमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव यसअघि टेबल भइसकेको छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४५ सांसदहरूले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव संसदमा टेबल गरेका थिए।
नेकपा खारेज भएपछि नेकपा एमाले एक भएर अघि बढ्नुपर्ने प्रदेशका पूर्वमन्त्री तथा सांसद अरुण नेपालले बताए। नेकपा रहँदा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा उनले आफ्नो समर्थन जनाएका थिए।
मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबल गर्नु एक परिस्थिति भए पनि अहिलेको राजनीतिक अवस्था फरक भएको उनले बताए ।
एमाले ब्यूतिएपछि सबै मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिनेबारे भने छलफल भइरहेको उनले बताए ।

























