काठमाडौं, चैत्र ३ । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको बताएका छन्। बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने चेतावनीसमेत दिए।
भट्टराईले भने, ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ। हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं। इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन्। त्यसैले धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस्।’
उनले भोलिको कार्यक्र्रर्म प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई आग्रह गरेको छ।
‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो कार्यक्रमको नजर लगाउनू भनेर, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपाईंकै हो। बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन। आफैं आउनुहोस्।’
उनले आवेग र उत्तेजना गएर पार्टीमा देखिएको समस्या समाधान नहुने बताए।
प्रधानमन्त्री ओलीले आज बालुवाटारमा आयोजना गरेको चियापानका क्रममा भोलिको कार्यक्रममा नजर लगाउने र सहभागी भएकालाई कारवाही गर्ने चेतावनी दिएका थिए।


























