काठमाडौं, फागुन २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न जनता समाजवादी पार्टीका नेतासँग पेरिशडाँडा पुगेका छन्। छलफलका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका हुन्।
श्रोतका अनुसार अहिले दुई पार्टीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ। आजै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए। यसअघि हिजो र आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो।
प्रचण्डले मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि नयाँ सत्ता समिकरणको प्रयास अगाडि बढेका छन्।


























