काठमाडौं, फागुन २६ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खुमलटार युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा गर्ने छन्।
खुमलटार र बाँसबारीबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ। लिगको आफ्नो अन्तिम खेलमा मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन्। खुमलटार १० खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
बाँसबारी १० खेलमा २१ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ। अर्को खेलमा नयाँबस्तीले पुल्चोक स्पोर्ट्स क्लबसँग खेल्नेछ। नयाँबस्ती र पुल्चोकबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ।
नयाँबस्ती र पुल्चोक पनि लिगको अन्तिम खेलमा जित निकाल्न चाहन्छ। नयाँ बस्ती १० खेलमा १२ अंक जोडेर नवौं स्थानमा रहेको छ। पुल्चोक १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ। रेलिगेसनबाट जोगिन पुल्चोकलाई अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ।


























