काठमाडौं, फागुन २३ । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ। आइतबार भएको खेलमा काठमाडौं मेयर-११ सँग ९४ रनले पराजित हुँदै बागमतीले लगातार दोस्रो हार व्यहोरेको हो।
पहिलो खेलमा बागमती नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो। मुलपानी क्रिकेट मैदानमा काठमाडौंले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको बागमती ३४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५० रनमा समेटियो।
बागमतीका लागि पृथु बास्कोटाले ६० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। अनिल खरेलको बलमा आउट हुनु अघि उनले ७९ बल ८ चौका प्रहार गरे।
यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र इशान पाण्डेले १७/१७ रन बनाए। आदील खानले १५ रन जोडे। पारस खड्का १० रनमा आउट भए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो।
काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४९ रन बनाए। कप्तान सन्दीप लामिछानेले ४२ रन जोड्दा सिद्दान्त लोहलीले ३४ रन जोडे। बागमतीका नन्दन यादवले ४ विकेट लिए। रामनरेश गिरि र अरियो पौडेलले २/२ विकेट लिए। यस जितसँगै काठमाडौं मेयर-११ ले भने प्रतियोगितामा सुखद सुरुवात गरेको छ।


























