फागुन २० । घरेलु टिम वेस्ट इन्डिजले पहिलो टी-ट्वान्टीमा श्रीलंकालाई पराजित गरेको छ। बिहीबार भएको पहिलो खेलमा वेस्ट इन्डिजले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो।
श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। वेस्ट इन्डिजका लागि कप्तान काइरन पोलार्डले सर्वाधिक ३८ रन बनाए। उनले छैटौं ओभरमा स्पिनर अलिका धनञ्जयको ६ बलमा ६ छक्का प्रहार गरेका थिए।
यस्तै जासन होल्डरले अविजित २९ रन जोड्दा इभिन लेविसले २८ रन बनाए। लेन्डल सिमोन्सले २६ रन जोडे। श्रीलंकाका धनञ्जयले ह्याट्रिक विकेट लिए। उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए।
यस्तै डी सिल्भाको नाममा ३ विकेट रह्यो। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो। श्रीलंकाका पाथुम निशनकाले ३९ रन जोड्दा निरोशन डिक्वेलाले ३३ रन बनाए। वेस्ट इन्डिजका ओबेड म्याकोवेले २ विकेट लिए। यस जितसँगै तीन खेलको सिरिजमा वेस्ट इन्डिजले १-० को अग्रता बनाएको छ। एजेन्सी


























