काठमाडौं, फागुन २० । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ बिच पुनः बिहीबार पनि वार्ता भइरहेको छ। सरकार र विप्लव नेकपाबिच बुधबारदेखि औपचारिक वार्ता सुरु भएको हो।
बुधबार दिनभर तीनपटक दुई टोलीबिच वार्ता भएको थियो। वार्ता सकारात्मक रहेको र बिहीबारको वार्तालाई निर्णायक बनाउने प्रयास भइरहेको स्रोतले जनाएको छ। बुधबार बेलुका दुई वार्ता टोलीबिच गृहमन्त्री रामबहादुर थापा बादलको पुल्चोक स्थित सरकारी निवासमा तेस्रो वार्ता भएको थियो। त्यसअघिका दुई वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएका थिए।
दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले बताएका थिए। त्यहि विन्दुबाट अहिले वार्ता सुरु भएको स्रोतले बताएको छ। दुई चरणको वार्ता भएपछि तेस्रो पटक आज दुईपक्ष संवादमा जुटेका हुन्।
बालुवाटार निकट स्रोतका अनुसार अहिले भइरहेको छलफलमा समूहका राजनीतिक एजेण्डाबारे कुराकानी हुनेछ। प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकारले सकारात्मक रहेको बुधबारै बताइसकेको छ।
चाडै मन्त्रिपरिषद् बैठक बसेर प्रतिबन्ध फुकुवा गर्ने विप्लव समूहको वार्ता टोलीलाई भनिएको छ। वार्ता टोलीका सदस्यले सरकारतर्फबाट आएको प्रस्तावबारे महासचिव विप्लवसँग समेत कुरा गरिसकेका छन्।




















