चितवन, भदाै ३० । जिल्लाको माडीमा सामुहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवर्द्वनका लागि ‘होमस्टे’ निर्माण तीव्र पारिएको छ। माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामुहिक खेती गरिएको ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण गरेको हो। सहकारीका प्रबन्धक शिवजी गायकका अनुसार सो संस्थाले यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामुहिक खेती गरेको छ, जसमध्ये घर आवश्यक भएका ५० परिवारलाई पक्की घर बनाएर त्यही होमस्टे सञ्चालन गर्न लागिएको हो। ती घरमा चार कोठा हुने छन्, जसमध्ये शौचालयसहितको एउटा कोठा होमस्टे हुनेछ।
दश वटा घर निर्माण अन्तिम चरणमा पुगेको छ। गायकका अनुसार २८ वटा घरको झ्याल ढोका हालिँदै छ भने १२ वटा घर निर्माणका लागि जग खन्ने काम शुरु भएको छ। अन्तिम चरणमा पुगेका १० घरमा प्लाष्टर गर्न मात्र बाँकी छ। निषेधाज्ञाका कारण काममा ढिलाइ भएको हो। ती सबै घर जग्गावालाको आफ्नै जमिनमा निर्माण गरिँदै छ। घर निर्माणका लागि वाग्मती प्रदेशले एउटा घरको रु तीन लाख र माडी नगरपालिकाले रु एक लाख ५० हजार घरधनीलाई सहयोग गरेको छ। बाँकी श्रमदान आफैँले गर्नुपर्ने हुन्छ। ‘उहाँहरुलाई कच्ची घरबाट पक्कीमा बसेर त्यहीभित्र रोजगारीका साथै व्यवसाय गर्ने अवसर मिल्ने छ,’ उनले भने।
आउँदाे फागुनसम्ममा घर निर्माण सम्पन्न गरेर होमस्टे सञ्चालन गर्ने लक्ष्य लिइएकाे सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले जानकारी दिए। कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गरिने उनको भनाइ छ। सोही क्षेत्रमा रु ५० लाखको लागतमा गन्धर्व सांस्कृतिक भवन बनाइँदै छ। सो भवनमा २५० जना अट्ने उनले जानकारी दिए। माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा पर्यापर्यटन, धार्मिक पर्यटनसँगै कृषि पर्यटनका लागि होमस्टे उपयोगी हुने बताए। सामुहिक कृषि खेतीसँगै लोपोन्मुख गन्धर्व जातिको संरक्षणमा बहुआयामिक काम भएको उनले बताए। यसले माडी आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने ढकालको भनाइ छ। – रासस


























