काठमाडौं, माघ १५ । गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएकोमा राजदुत बेरीमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै बाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे। उनले नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको जानकारी दिँदै अमेरिकाबाट समेत नेपालले खोप सहयोग पाउने अपेक्षा राखेको बताए।
गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे। भेटमा राजदूत बेरीले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै अमेरिकाका राष्ट्रपति बाइडेनको कार्यकालमा यो सम्बन्धले थप मजबुत हुने विश्वास व्यक्त गरे।
उनले राष्ट्रपति बाइडेनको प्राथमिकताबारे चर्चा गर्दै नेपालको लोकतन्त्र, मानवअधिकार, जलवायु परिवर्तन लगायतको क्षेत्रमा अमेरिकाको सहयोग जारी रहने प्रतिवद्धता दोहोर्याएका थिए।


























