काठमाडौं, फागुन १९ । गोंगबु हत्या प्रकरणकी दोषी कल्पना कुडभरीलाई आजिवन जेल सजायको फैसला सुनाइएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार ३७ वर्षीया कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय सुनाएको हो।
निर्मम तरिकाले कृष्णबहादुर बोहोराको हत्या गरेको भन्दै उनलाई जीवित रहुन्जेल जेलमा बस्नुपर्ने फैसला अदालतले सुनाएको हो। त्यस्तै उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सफाई दिएको छ।
साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ। सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकी कल्पनाबारे बुधबार जिल्ला अदालत काठमाडौँले अन्तिम फैसला सुनाएको हो। कल्पनाले दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको गत साउनमा निर्मम ढंगले हत्या गरेकी थिइन्।
बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो। पछि प्रहरी तालिम प्राप्त जोजो नामको कुकुरको मद्दतले टाउको र खुट्टा फेला पारेको थियो।


























