फागुन १३ । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा घरेलु टिम भारत अलआउट भएको छ। अहमदाबादमा टेस्टको दोस्रो दिन बिहीबार भारत १ सय ४५ रन जोड्दा अलआउट भएको हो।
पहिलो इनिङ्समा भारतले ३३ रनको अग्रता बनाएको छ। भारतका लागि रोहित शर्माले ६६ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान विराट कोहलीले २७ रन बनाए। रविचन्द्र आश्विन १७ रनमा आउट भए। सुबमन गिल ११ रनमा आउट हुँदा इशान्त शर्मा १० रनमा अविजित रहे।
भारतलाई सस्तैमा समेट्न इंग्ल्यान्डका जोय रुटले ८ रन खर्चिएर ५ विकेट लिए। ज्याक लिचले ४ विकेट लिए। यस अघि इंग्ल्यान्ड पहिलो इनिङ्समा १ सय १२ रन जोड्दा अलआउट भएको थियो।
इंग्ल्यान्डका लागि जाक क्रलेले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान जोय रुटले १७ रन जोड्दा बेन फोकेसले १२ र जोफ्रा आर्चरले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
भारतका अक्षर पटेलले ६ विकेट लिए। रविचन्द्र आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए। दुई टिमबीचको चार खेलको सिरिज १-१ को बराबरीमा रहेको छ।


























