काठमाडौं, फागुन ७ । वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले प्रतिनिधि सभा विघटन सरकारको स्वेच्छाचारी कदम भएको दाबी गरेकी छिन्। एमिकस क्युरीका तर्फबाट अन्तिम सदस्यका रुपमा शुक्रबार बहस गर्दै वरिष्ठ अधिवक्ता पाठकले संविधानमा व्यवस्था नै नभएको अवस्थामा प्रतिनिधि सभा विघटन गर्नु ओलीको स्वेच्छाचारी कदम भएको तर्क गरिन्।
‘सरकारको स्वेच्छाचारी कदम गम्भीर रूपमा हेर्नुपर्छ’ बहसका क्रममा उनले भनिन्, ‘होइन भने यो कदम सही छ भनेर वस्तुनिष्ठ तरिकाबाट प्रमाणित गर्नुपर्छ।’
प्रतिनिधि सभा विघटनविरुद्ध संविधानविद्, वरिष्ठ अधिवक्ता र कानुन व्यवसायीले बहस गर्दा राखेका धारणा सुन्नुपर्ने उनको तर्क छ। यस्तै उनले प्रधानमन्त्री ओलीको कारण सविधान कोमामा पुगेको पनि बताइन्।
संविधान निर्माण गर्दा चौतर्फी बहस भएको, सबैको धारणा सुनिएको, सबैको साझा धारणाबाट नै प्रतिनिधि सभा विघटनको व्यवस्था नराखिएको अवस्थामा प्रधानमन्त्रीले विघटन गरिदिँदा संविधानमा कोमामा पुगेको उनले बताइन्। संविधान कोमामा रहँदा आफुहरु पनि कोमामा पुगेको भनाइ छ।
‘संविधानको जिवन्तता रहन्छ वा रहदैन ? वा के हुन्छ ?’ एमीकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता पाठकले भनिन्, ‘तर अहिले संविधान कोमामा छ। सविधान कोमामा रहँदा हामी पनि कोमामै छौ।’ पाठक क्युरीका तर्फबाट बहस गर्ने अन्तिम सदस्य हुन्। उनको बहसपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ।


























