चितवन, भदाै ३० । विगतका तुलनामा याेवर्ष बढी नै वर्षा भएकाे छ। जसले गर्दा नारायणगढ–मुग्लिन सडकखण्डमा गतवर्षभन्दा यसवर्ष बढी पहिराे खसेकाे छ। सवारी चाप कम भएका कारण त्यति धेरै मानिसहरु प्रभावित नभए पनि मालवहाक ढुवानीका साधन, अत्यावश्यक काममा हिँड्ने र बिरामीकाे लागि भने समस्या भएकाे छ। पछिल्लाे समय पनि करिब २४ घण्टादेखि उक्त सडक अवरुद्ध छ। इच्छाकामना गाउँपालिकाकाे वडा नम्बर ६ मा पर्ने चारकिलाे क्षेत्रमा ठूलाे पहिराे खस्दा बाटाे अवरुद्ध भएकाे हाे।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङका अनुासार साेमबार दिनभरकाे प्रयासपछि साँझ एकतर्फी खुलाइएकाे बाटाे राति आएकाे पहिराेले फेरि अवरुद्ध बनेकाे हाे। याे सडकखण्डमा चार ठाउँमा ठूला पहिरा खसेका छन् भने ठाउँठाउँमा साना पहिरा खसेका छन्। ‘बिहानैदेखि पहिराे पन्छाउने प्रयास भइरहेकाे छ,’ प्रहरी निरीक्षक तामाङले भने, ‘धेरै ठाउँमा पहिराे गएकाेले पहिराे पन्छाउन कम्तिमा पनि आज दिनभर लाग्ने अनुमान गरेका छाैँ।’ उनका अनुसार घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन्।
अहिले चारकिलाे र घुमाउनेमा खसेकाे पहिराे हटाउने प्रयास भइरहेकाे छ। डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर शिव खनालका अनुसार एकतर्फी सञ्चालन गरेर बीचमा अड्किएका सवारीसाधन पार गराएपछि मात्रै दुईतर्फी खुलाइने छ। सोमबार बिहान चारकिलाेमा मात्रै पहिराे गएकाे भए पनि रातिकाे पानीले धेरै ठाउँमा पहिराे गएकाे उनले बताए। पाँचकिलाे भन्ने ठाउँमा एउटा विद्यालय भवन नै बगाएकाे छ। राष्ट्रिय आधारभूत विद्यालयकाे भवन बगाएर आएकाे लेदाेले पाँचकिलो क्षेत्रकाे सडक भरिएर छेउमा रहेका घरहरुमा क्षति पुर्याएको छ।


























