काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा अोलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आह्वान गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिँसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरेका छन्।
‘शान्तिपूर्ण मूलधारमा समाहित हुन नसकिरहेका कतिपय पक्षहरुलाई संवादको माध्यमबाट शान्तिपूर्ण रुपमा मूलधारमा आउन आग्रह गर्दछु’, उनले भने।
उनले लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाहरुलाई रोक्ने बताए। प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा लाग्न पनि सबै निकायहरुलाई निर्देशन दिएका छन्। देशलाई अस्थीरताबाट जोगाउन ताजा जनादेशमा जानु परेको बताए।
उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने भन्दै जनताको अभिमत भन्दा बाहिर नजाने बताएका छन्। प्रधानमन्त्री अोलीले सरकारले भ्रष्ट्राचार गर्न नदिने र गरेमा कडा कारबाही गर्ने बताए। उनले नेपाल अर्को वर्ष विकाशशील राष्ट्रमा जानेसमेत बताए।


























