काठमाडौं, फागुन ६ । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस अवार्डको तयारी पूरा भएको छ। आयोजक खेलाडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
एनएनआईपीए स्पोर्टस अवार्ड फागुन ८ गते शनिबार मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा हुनेछ। अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गरिनेछ।
यस्तै उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिने छ। सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १/१ लाख रुपैयाँ पाउने छन्। उत्कृष्ट खेलाडीले जनही १०/१० हजार पाउने छन्। प्रतिभावान महिला र पुरुष खेलाडीले ५०/५० हजार रुपैयाँ पाउने छन्। संघले यसपटक राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको जानकारी दिएको छ। यस विधाका विजेता महिला र पुरुष खेलाडीले जनही ५०/५० हजार रुपैयाँ पुरस्कार पाउने छन्।
यस पटकको अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलका खेलाडीलाई समावेश गरिएको आयोजकले जनाएको छ। संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट समितिले चयन गर्ने आयोजकले जनाएको छ।


























