फागुन ५ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा लिभरपुलले आरबी लाइप्जिगको घरेलु मैदानमा २-० को जित दर्ता गरेको छ।
लाइप्जिगले डिफेन्समा गरेको गल्तिको फाइदा उठाउँदै मोहमद सलाह र साडियो मानेले गोल गरेपछि लिभरपुलले पहिलो लेगमा अग्रता बनाएको हो। कोरोना संक्रमणका कारण बुडापेस्टको मैदानमा भएको लिभरपुलको अवे खेलमा टोलीले प्रिमियर लिगमा बेहोरेको लगातार तीन हारको सिलसिलामाथि पनि पूर्णविराम लगाएको छ।
खेलको ५३ औं मिनेटमा सलाहले लाइप्जिगका मार्सल साबिट्जरको ब्याक पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनको स्थितिमा अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि नै लिभरपुलले मानेको गोलमा अग्रता दोब्बर पार्यो। कार्टिस जोन्सको लामो पासलाई डिफेन्डर नोर्डिक मुकिएलेले नियन्त्रणमा लिन खोज्दा लडेपछि मानेले बल अघि बढाउँदै वन भर्सेस वनकै स्थितिमा अग्रता दोब्बर पारे।
त्यसअघि खेलको पाँचौ मिनेटमा नै लाइप्जिगका ड्यानी ओल्मोको हेडर पोस्टमा लागेर फर्कंदा लिभरपुल पछि पर्नबाट जोगिएको थियो। खेलको इन्ज्युरी समयमा कोरियाली ह्वाङ हि(चानको प्रहार बाहिरिंदा लाइप्जिगले खेलमा फर्कने अवसर पनि गुमाएको थियो।
अब दुई टोलीले दोस्रो लेगको खेल एनफिल्डमा खेल्नेछन्। खेल १० मार्चमा हुनेछ। एजेन्सी


























