फागुन ४ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक पुरुषलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन्। उनी नै दोषी हुन सक्छन् भन्ने केही तथ्यहरू प्राप्त भएको प्रहरीको दाबी छ।
‘केही तथ्य हामीले प्राप्त गरेका छौं। अनुसन्धानकै क्रममा रहेकाले अहिले भन्न मिल्दैन,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने।
स्रोत भन्छ, ‘भागरथीको हत्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट नजिकै रहेको खोचलेक बजारमा रहेको पाइएको छ। जहाँ भागरथी पनि थिइन्। जब भागरथी खोचलेक बजारबाट घरतर्फ लागिन् ती पुरुष पनि त्यहाँबाट निस्किएको पाइएको छ।’
प्रहरी स्रोतकाअनुसार पक्राउ परेका व्यक्तिको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको छ। उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट महेन्द्रनगर गएको र त्यहाँबाट भारत जाने तयारीमा रहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले भागरथी वेपत्ता भएको दिनपछि चडेपानी छोडेका व्यक्तिमाथि निगरानी बढाउने क्रममा उनलाई पनि पक्राउ गरेको जनाएको छ। उनको संलग्नतालाई पुष्टि गर्न डिएनए टेष्ट गर्नुपर्ने प्रहरीले जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भागरथीको हत्यामा संलग्नलाई छिट्टै सार्वजनिक गरिने बताए। उनले भने, ‘हामी हत्याराको नजिक पुगिसकेका छौ। विधिविज्ञान प्रयोगशालामा पठाएको तथ्यको रिपोर्ट पनि आउँदैछ। छिट्टै सार्वजनिक गर्छौ।’


























