चितवन, फागुन ४ । लक्की मिडीया हाउस चितवनले यहाँका दुईजना सक्रिय सञ्चारकर्मीसहित दर्जनभन्दा बढीलाई एकसाथ सम्मान गरेकाे छ। संस्थाको पांँचौ वार्षिकोत्सवको अवसरमा सोमबार पत्रकार सूर्यप्रसाद अधिकारी र सञ्चारकर्मी दिनेश श्रेष्ठ ‘पासा’लाई सम्मान गरेकाे हाे। अधिकारी नेपाल प्रेस युनियन, चितवनका उपाध्यक्ष हुन् उनी चितवनमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत छन् भने श्रेष्ठ विगत दुई दशकदेखि चितवनमा रहेर रेडियो पत्रकारिता गरिरहेका छन्।
सोही अवसरमा चिकित्सा विधाअन्तर्गत भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवम् नेपाल चिकित्सक संघ चितवन शाखाका निःवर्तमान अध्यक्ष डाक्टर प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदीपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ओमकृष्ण पाठक पनि सम्मानित भएका छन्।
यस्तै शिक्षाकर्मी सम्मानअन्तर्गत ग्रीनल्याण्ड स्कुलकी प्राचार्य एवं मेट्रो प्याव्सनका उपाध्यक्ष इन्दिरा कार्की , लिटिल फ्लावर स्कुल, नारायणगढका प्राचार्य फादर रोवी र अर्किड स्कुल, भरतपुरका सह प्राचार्य ओमराज मैनाली सम्मानित भएका छन्। सम्मानित हुने अन्य व्यक्तिहरुमा नेपाली सिने क्षेत्रकी नायिका आँचल शर्मा र अभिनेता विपीन कार्की रहेका छन्। खेल विधाअन्तर्गत नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित भएका छन्।
नवलपरासी–वर्दघाट सुस्तापूर्व जिल्ला फुटवलका संघका महासचिव लक्ष्मण कार्की, एएफसी फुटवल संघका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदिप भण्डारीलाई सम्मान गरिएको हो। मिडिया हाउसले चितवनका व्यवसायीहरुलाई समेत सम्मान गरेको छ। सुजन प्लानिङ एण्ड कन्ट्रक्सन प्रालिका अध्यक्ष सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्ड एण्ड रिट्रिटका प्रबन्धक राजेश शर्मा आचार्यलाई सम्मान गरिएको कार्कीले बताए।
देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं समाजसेवी टंकनाथ पौडेल र कर्मचारीहरुकाे तर्फबाट उत्कृष्ट कार्य गरेको भन्दै मिडिया हाउसकी बजार प्रमुख विमला पौडेल बस्नेतलाई समेत सम्मान गरेकाे थियाे। भरतपुरमा आयोजित कार्यक्रममा पूर्व-स्वास्थ्यमन्त्री तथा नेपाली कांंग्रेसका केन्द्रीय सदस्य गगन थापा र वरिष्ठ कलाकार नीर शाहको उपस्थितिमा उनीहरुलाई सम्मान गरेकाे हाे। काेभिड-१९ का कारण मानिसको दैनिकी अस्तव्यस्त बनिरहेका बेला समयमै कार्यक्रम गर्न नपाए पनि एउटै मञ्चबाट समाजका प्रतिष्ठित व्यक्तिहरुलाई एकसाथ सम्मान गर्न पाउँदा गर्व महसुस भएकाे लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताए।


























