काठमाडौं, फागुन २ । नेकपा (दाहाल-नेपाल समूह) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताएका छन्। आइतबार पार्टी केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरूको प्रस्तुतीलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकिर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको बताएका हुन्।
पशुपतिनाथ विश्वभरीका हिन्दुहरूको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफुहरूले सम्मान गर्ने उनको भनाइ छ। यस्तो संवेदनशील पक्षलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि उनले आग्रह गरे।
उनले भने, ‘हाम्रो संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको छ, त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो। तर नेपाली जनताको धार्मिक आस्थाको, धार्मिक स्वतन्त्रताको हामि उच्च सम्मान गर्दछौँ र त्यसका निम्ति हामिले संघर्ष पनि गरेका हौँ।’ उनले हरेक व्यक्तिले धर्म मान्न पाउने छुट रहेको बताए।
प्रवक्ता श्रेष्ठले आफुहरू सडक संघर्षमा मात्रै नभइ कानुनी मोर्चामा पनि संघर्ष गरिरहेको बताए। सरकारले निर्वाचन गराउनको निम्ति निर्वाचनको मिति घोषणा गरेको होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको उनको भनाइ छ। संघर्ष सफल बनाएर प्रतिनिधि सभा पुनर्स्थापना गर्नेपनि उनको दाबी छ।


























