काठमाडौं, फागुन १ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र वालिङ नगरपालिका भिड्नेछन्।
दोस्रो खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। विभागीय टिम एपीएफ र वालिङबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ। ८ खेलसम्म अपराजित एपीएफ २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। एपीएफ वालिङलाई हराएर दोस्रो स्थानको त्रिभुवन आर्मीविरुद्ध अंक दूरी फराकिलो बनाउन चाहन्छ।
वालिङविरुद्ध एपीएफलाई जित निकाल्न सहज भने हुने छैन। अफ्रिकन खेलाडीको साथ पाएको वालिङ निकै बलियो रहेको छ। वालिङ १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
विराटनगर र चौदण्डीबीचको खेल भने अपरानह्न ३ बजे सुरु हुनेछ। विराटनगर ९ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ। चौदण्डीलाई हराएर विराटनगर अंक तालिका सुधार गर्न चाहन्छ। चौदण्डी भने अंक विहीन रहेको छ। चौदण्डी पुछारमा रहेको छ।


























