काठमाडौं, माघ ३० । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गरेको हो।
पुलिसको जितमा सिर्जना खड्का, निर्मला बिक र रेखा पौडेलले एक एक गोल गरिन्। रौतहटको चन्द्रपुरविरुद्ध पुलिसले खेलको सातौं मिनेटमा अग्रता बनाएको थियो। सिर्जनाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन्। दोस्रो हाफमा पुलिसले थप दुई गोल गर्यो।
खेलको ५४ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाईन्। त्यसपछि खेलको ८५ औं मिनेटमा परिवर्तित खेलाडी रेखाले गोल गर्दै पुलिसलाई ३-० को जित दिलाईन्। लिगमा पुलिसको यो चौंथो जित हो।
जितसँगै पुलिसले तेस्रो स्थानको वालिङसँग अंक बराबरी गरेको छ। चौंथो स्थानमा रहेको पुलिसले ९ खेलमा १४ अंक जोडेको छ। वालिङ पुलिस भन्दा गोल अन्तरले अघि रहेको छ। चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।


























