भरतपुर ३० माघ । जलविद्युत आयाेजना क्षेत्रमा समेत सफल भएकाे कालिका पावर कम्पनीले चालु आर्थिक वर्षकाे पुस मसान्तसम्ममा ५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ। शुक्रबार नारायणगढमा सम्पन्न कम्पनीकाे १३औं वार्षिक साधारणसभामा आयव्यव विवरण पेश गर्नै कम्पनीका सञ्चालक पदम गुरुङले कम्पनीको वित्तीय अवस्थामा सुधार आएको जानकारी गराए। उनका अनुसार प्रतिशेयरमा पनि ९१ दशलमव ४६ प्रतिशतले वृद्धि भएको छ।
गाेरखाकाे दराैंदी नदीबाट ६ मेगावाटकाे विद्युत उत्पादन गरी सरकारलाई बुझाइसकेकाे कम्पनीले फेरि चारवटा जलविद्युत आयाेजनाकाे काम गर्न प्रकृया अगाडि बढाएकाे उनले बताए। कम्पनीकाे सफलताकै कारण नयाँ काम गर्न उत्साह जागेकाे उनकाे भनाइ छ। हालसम्म विद्युत बिक्रि गरेर ११ करोड २७ लाख ७३ हजार ३ सय ३६ रुपैयाँ आम्दानी गर्न सफल भएको उनले बताए। विगतको तुलनामा ३ दशलमव १५ प्रतिशत बढी विद्युत बिक्रि गरेर आम्दानी गर्न सफल भएकाे उनले बताए।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक एवम् पूर्वमन्त्री बिक्रम पाण्डेले कालिका पावरले सफलता हासिल गर्दै गएकाेले देशकै ठूलो जलविद्युत कम्पनीकाे रुपमा स्थापित गर्न सकिने बताए। पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष पाण्डेले भने, ‘नेपालमा विकास निर्माणमा काम गर्न सहज छैन। तैपनि अनेक खालका अप्ठ्याराका बीचमा पनि हामीले समयमै आफ्नाे काम सम्पन्न गर्न सकेका छाैँ। त्यसैले हामीलाई विश्वास छ कि एकदिन यो कम्पनी देशकै ठूलाे जलविद्युत कम्पनीकाे रुपमा उदाउने छ।’ देशमा जलविद्युतकाे सम्भावना उच्च रहेकाे र उर्जा क्षेत्रमा हुने लगानीले देशकै अर्थतन्त्र माथि उकास्नमा महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा सरकारले जलविद्युत कम्पनीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने उनकाे भनाइ छ।
जुनसुकै काम गर्न पनि प्रक्रिया पूरा गर्नै वर्षाैँ लगाइदिने हुँदा कुनै पनि आयाेजनाले साेचेअनुसारकाे काम गर्न चुनाैतिकाे सामना गर्नुपर्ने उनले बताए। तैपनि कम्पनीका सञ्चालक तथा सेयर सदस्यहरुकाे सहयाेगकै कारण कालिका पावर कम्पनी ‘टप फाइभ’ भित्रै रहेन सफल भएकाे उनकाे भनाइ छ।


























