काठमाडौं, माघ २९ । राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्गजाको वालिङ नगरपालिकाले सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको हो।
वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन्। यस्तै क्यामरुनकै टौटा ओरनेला नोईलीले दुई गोल गरिन्। चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काईन्। खेलको २५ औं मिनेटमा रुथले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन्। तर, खेलको ३२ औं मिनेटमा अन्जनाले गोल गर्दै चौदण्डीलाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन्।
खेलको ३४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दा वालिङले २-१ को अग्रता बनायो। खेलको ४४ औं मिनेटमा रुथले ह्याट्रिक पुरा गरेपछि पहिलो हाफमा वालिङ ३-१ ले अघि रह्यो। दोस्रो हाफमा वालिङले थप चार गोल गर्यो। खेलको ४८ औं मिनेटमा रुथले व्यक्तिगत चौंथो गोल गर्दा वालिङले ४-१ को अग्रता बनायो। ५५ औं मिनेटमा रुथले व्यक्तिगत पाँचौं गोल गरेपछि वालिङको अग्रता ५-१ को बन्यो। खेलको ७१ औं मिनेटमा नोईलीले गोल गर्दै वालिङलाई ६-१ अग्रता दिलाईन्।
त्यसपछि खेलको ७२ औं मिनेटमा नोईलीले व्यक्तिगत दोस्रो गोल गरेपछि वालिङले ७-१ को सहज जित निकाल्यो। लिगमा यो वालिङको चौंथो जित हो। जितसँगै वालिङले ९ खेलमा १८ अंक जोडेको छ। वालिङ लिगको तेस्रो स्थानमा रहेको छ। चौदण्डीको यो लगातार नवौं हार हो। अंक विहीन चौदण्डी पुछारमा रहेको छ।


























