फ्रान्स, बैशाख १७ । फ्रान्सले लकडाउनलाई खुकुलो बनाउने तयारी थालेको छ। त्यसका लागि सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य बनाउने भएको छ।
कोरोना भाइरसको महामारीका कारण बढी प्रभावित हुने मध्येमा एक रहेको फ्रान्सले जारी रहेको लकडाउन आउँदो मे ११ देखि खुकुलो बनाउने भएको हो। लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य हुने प्रधानमन्त्री इड्वार्ड फिलिपले बताए। सरकारले विद्यालयहरु क्रमिक रुपमा खुलाउँदै जाने योजना बनाएको उनले बताए।
सुरुमा किन्डरगार्डेन र त्यसपछि प्राइमरी स्कूल खुलाइने छ। अन्त्यमा मात्रै सेकेन्डरी स्कूल खुलाइने र त्यहाँ मास्कको प्रयोग अनिवार्य गरिने फ्रान्स सरकारले बताएको छ। ११ देखि १५ वर्ष उमेरका बालबालिकाले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने भएको हो।
कोरोना भाइरसबाट बढी प्रभावित भएको अर्को देश स्पेनले पनि जनजीवन केही खुकुलो र सामान्य बनाउने तर्फ कदम चालेपछि फ्रान्सले पनि आफ्नो योजना सार्वजनिक गरेको हो।
अत्यावश्यक बाहेकका पसल वा बजारहरु पनि आउँदो मे ११ देखि फ्रान्समा खुला गर्ने फ्रान्स सरकारको तयारी छ। तर बार तथा रेस्टुरेन्टलाई भने सो छुट दिइएको छैन। खुला गरिएका पसलमा पनि सुरक्षात्मक सामग्रीको प्रयोग तथा तीन फिटको दूरी कामय गर्नु पर्ने छ।
यस्तै सर्वसाधारणहरु मे ११ देखि घर बाहिर निस्कन पाउने छन्। एक ठाउँमा १० जनासम्म मात्रै जम्मा हुन पाइने छ।


























