माघ २९ । अमेरिकी सामाजिक सञ्जाल ट्विटरले कीर्तिमानी त्रैमासिक आम्दानी गरेको छ। सन् २०२० कम्पनीको लागि असाधारण वर्ष रहेको ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले बताएका छन्। गत वर्षको अन्तिम त्रैमासमा कम्पनीले १ अर्ब २९ करोड डलर आम्दानी गरेको छ।
आम्दानीको यो आकार सन् २०१९ को अन्तिम त्रैमासको तुलनामा २८ प्रतिशत धेरै हो। समीक्षा अवधिमा ट्विटरको प्रयोगकर्ता वृद्धिबारे विश्लेषकहरुले गरेको अनुमान पूरा नभएपनि आम्दानी र मुनाफा भने अपेक्षाकृत उच्च रह्यो। अमेरिकी संसदमा हिंस्रक दंगापछि कम्पनीले पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता स्थायी रुपमा नै बन्दल गर्यो।
कम्पनीको सो निर्णयको प्रभाव चालू त्रैमासमा ट्विटरको लोकप्रियतामा पर्ने आशंका गरिएको थियो। तर यस्तो भएन। तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा ट्विटरको कूल ‘मनिटाइजेबल’ दैनिक सक्रिय प्रयोगकर्ताको संख्या ५० लाख बढेर १९ करोड २० लाखमा पुग्यो।
यो गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशत धेरै भएपनि विश्लेषकहरुको अनुमानभन्दा चाँहि कम हो। समीक्षा अवधिमा सो संख्या १९ करोड ३५ लाख पुग्ने अनुमान गरिएको थियो। एजेन्सी


























