काठमाडौं, माघ १९ । कतारविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण सुरु गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान) ले कतार भ्रमण गर्नका लागि सोमबारबाट प्रशिक्षण गर्न लागेको हो।
कतारसँगको तीन खेलको सिरिजका लागि क्यानले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले बोलाएको टिममा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी परेका छैनन्। तर, क्यानले राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरुलाई बन्द प्रशिक्षण लागि बोलाएको छ। अलराउण्डर विवेक यादव पहिलो पटक टिमको प्रशिक्षणमा परेका छन्।
यस्तै कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन्। नेपाल र कतारबीचको बाइल्याट्रल टी-ट्वान्टी सिरिज अन्तर्गतको खेल फ्रेबुअरी ९, १० र १२ मा हुनेछ।


























