माघ १९ । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर एट्लेटिको मड्रिडले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
काडिजको मैदानमा लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिकोले सहज जित निकालेको हो। खेलको २८ औं मिनेटमा सुआरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ३५ औं मिनेटमा अल्भारोले गोल गर्दै काडिजलाई १-१ गोलको बराबरीमा फर्काए। खेलको ४४ औं मिनेटमा सउल निगुएजले गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाए। ५० औं मिनेटमा सुआरेजले पेनाल्टीमा गोल गर्दा एट्लेटिको ३-१ ले अघि रह्यो। खेलको ७१ औं मिनेटमा अल्भारोले व्यक्तिगत दोस्रो गोल गर्दै काडिजलाई २-३ गोलको स्थितिमा ल्याए। त्यसपछि खेलको ८८ औं मिनेटमा कोकेले गोल गर्दै एट्लेटिकोलाई ४-२ को सहज जित दिलाए।
जितसंगै एट्लेटिकोले १९ खेलमा ५० अंक जोडेको छ। एट्लेटिकोले लिगमा १० अंकको अग्रता समेत बनाएको छ। दोस्रो स्थानको रियल मड्रिडले ४० अंक जोडेको छ। काडिज २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ। एजेन्सी


























