काठमाडौं, माघ १८ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने कोशिषमा लागेको आरोप लगाएका छन्।
ओलीको कदमले दक्षिणपन्थीहरू फुरफुर गरिरहेको उनको आरोप छ। आइतवार माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले पञ्चायतको बेलामा कम्युनिस्टहरूमाथि आक्रमणमा उत्रेकाहरू अहिले ओलीको प्रसंशामा लागिरहेको बताएका हुन्।
‘ओलीको कदमले दक्षिणपन्थी फुरफुर गर्न थालेका छन्, २३ गतेको सभामा राजावादीहरू ओलीको सभामा आउने भनिरहेका छन्। पञ्चायतको बेलामा कम्युनिस्टलाई आक्रमण गर्ने भद्रकुमारी घलेहरू ओलीको समर्थनमा लाग्नुको अर्थ के हो ?,’ पाण्डेले भने।
पाण्डेले प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टामा लागेको आरोप लगाए। ‘प्रधानमन्त्री ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने कोषिशमा लागेको पनि सुनिएको छ,’ पाण्डेले भने।
धर्नामा नेकपा अध्यक्ष प्रचण्ड, नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू धर्नामा बसेका थिए।


























