काठमाडौं, माघ १२ । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मुलपानी क्रिकेट मैदानमा सोमबार प्रदेश-२ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रदेश-२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। पुलिसको जितमा अनिल साहले अविजित रहदै सर्वाधिक ४७ रन बनाए। यस्तै कुशल भुर्तेलले ४३ रनको योगदान दिए। दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७/१७ रन जोड्दा सुनिल धमलाले १३ रन बनाए। कप्तान मन्जित श्रेष्ठ १२ रनमा अविजित रहे।
प्रदेश-२ का कुमार थापा र विवेक यादवले ३/३ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। खेल ढिला सुरु हुँदा ४७ ओभरमा झारिएको खेलमा प्रदेश-२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै हिमान्सु दत्तले १६ रन जोड्दा आदील अन्सारीले १५ रन बनाए।
कप्तान सुरज कुर्मी १३ रनमा आउट हुँदा रबि सिंह र विशाल सुस्लिङले १२/१२ रन जोडे। पुलिसका ललित राजवंशीले ४ विकेट लिए। सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए। जितसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्यो। र, पुलिस समूह उपविजेता बन्यो। पुलिसको जितसँगै लुम्बिनी र प्रदेश-२ प्रतियोगिताबाट बाहिरिएको छ।
यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ। एपीएफले ४ खेलमा ७ अंक जोडेको छ। लुम्बिनी ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो। प्रदेश-२ जित विहिन बनेर पुछारमा रह्यो।


























