काठमाडौं, माघ १२ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि २ सय २० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४० रन बनायो।
एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए। यस्तै सुवास खकुरेलले ३८ रन जोड्दा सन्दीप जोराले २८ रन बनाए। कप्तान शरद भेषवाकर २४ रनमा आउट हुँदा बसन्त रेग्मीले २० रन बनाए। अमर सिंह रौटेलाले २६ रन जोडे। आर्मीका हरि चौहानले ५ विकेट लिए । साहब आलमले २ तथा आकाश चन्द, सुशन भारी र बिक्रम सोबले १/१ विकेट लिए।
आज आर्मी र एपीएफ जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। समूह ‘ए’ मा रहेका दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। तर, यस खेलले समूह विजेता र उपविजेता तय हुनेछ। त्यसैले दुबै टिम जित निकाल्दै समूह विजेता बन्दै अन्तिम चारमा पुग्न चाहन्छ।
यस समूहमा एपीएफ ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। आर्मी ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। यस समूहबाट कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ बाहिरिसकेको छ।


























